काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा सक्रिय रूपमा जोडिने घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यो घोषणा गरेकी हुन् ।
उनले एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । ‘राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि, मैले नेकपा (एमाले) मा रही राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन् । ‘म अब एमाले परिवारको एक सदस्यका रूपमा पुनस् जोडिएको छु र यसमा गर्व गर्छु ।’
भण्डारीले आफ्नो कुनै व्यक्तिगत महत्वाकांक्षा नरहेको उल्लेख गर्दै देश र जनताको हित नै आफ्नो मुख्य लक्ष्य रहेको बताइन् ।’जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो— जनता नै भगवान हुन्, र राजनीतिमा थकाइ भन्ने हुँदैन,’ उनले भावुक हुँदै भनिन् ।’आज यहाँहरूका बीचमा उभिँदा मैले उहाँका ती भनाइहरूलाई स्मरण गरेको छु ।’
उनले राजनीतिक यात्राले आफूलाई धेरै कुरा सिकाएको र परिपक्व बनाएको बताउँदै भनिन्, ‘मदन भण्डारीका आदर्शलाई आत्मसात् गर्दै म समर्पित भावनाले अगाडि बढिरहेकी छु । यो यात्रामा मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु ।’