राजावादी आन्दोलन पूर्णरूपमा निस्तेज भइसक्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादी आन्दोलन पूर्ण रूपमा निस्तेज भएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा मङ्गलवार आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री लेखकले यस्तो जानकारी दिए ।

‘केहीले राजावादी आन्दोलनले शासन व्यवस्था उल्ट्याउन सक्छ भन्ने ठानेका थिए, तर त्यो आन्दोलन अब पूर्ण रूपमा कमजोर भइसकेको छ र पुनः उठ्न सक्दैन,’ उनले भने । उनले गणतन्त्रविरोधी गतिविधिहरू निष्प्रभावी भएको र मुलुकका केही स्थानमा देखिएको धार्मिक भड्कावको सम्भावना पनि टरेको बताए ।

मन्त्री लेखकले सीमापार गतिविधिहरूको जोखिम रहेको उल्लेख गर्दै सवारी दुर्घटना, लागुऔषध दुरुपयोग, आत्महत्या र साइबर अपराधलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरे । यी अपराधहरू नियन्त्रण गर्न विशेष पहल भइरहेको उनले बताए ।

साथै, पुराना अपराधका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य पनि निरन्तर रहेको उनको भनाइ छ । उनले आफ्नो कार्यकाल सुरु हुँदा देशमा सहकारी, मिटर ब्याजलगायत विभिन्न १७ वटा आन्दोलन सक्रिय रहेको स्मरण गरे ।

‘अहिले माइतीघर मण्डला खाली छ, राजावादी आन्दोलन पनि सेलाएको छ,’ उनले भने, ‘सबै कुरा राम्रो भयो भन्ने होइन, तर राम्रो गर्न प्रयास जारी छ ।यसमा साथीहरूको सुझाव पनि अपेक्षित छ ।’ लेखकले गृह मन्त्रालयले शान्ति-सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *