काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा काल्पनिक विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । तत्कालीन दुनै गाविसमा अवस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाई ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा उक्त क्षेत्रमा दुर्गा प्राथमिक विद्यालय नामको कुनै शैक्षिक संस्था सञ्चालनमा नरहेको र त्यहाँ केवल श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको तथ्य फेला परेको छ । शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमनबाट उक्त विद्यालय काल्पनिक भएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
आयोगका अनुसार, तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारी काल्पनिक विद्यालयको नाममा योजना सञ्चालन गरेका थिए ।
उनीहरूले जस्ता छाना र दुई कोठे भवन निर्माण गरेको भनी झुटा विवरण पेस गरी सरकारी कोषबाट रकम भुक्तानी लिएको पाइएको छ । अख्तियारले चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बिगो माग दाबी गरेको छ । यो घटनाले सरकारी कोषको दुरुपयोग र पारदर्शिताको कमीमाथि गम्भीर प्रश्न उठाएको छ ।