मेयर आचार्यको घोषणा: पोखराका विद्यार्थीले १२ करोड बराबरको छात्रवृत्ति पाउने

पोखरा। पोखरा महानगरपालिकाले विद्यालय प्रवेश परीक्षाअघि नै निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न भएको यस परीक्षाको उत्तरपुस्तिका Optical Mark Recognition (OMR) प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। यस प्रक्रियाबाट करिब १२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरू योग्य हुनेछन्।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले OMR मेसिनको प्रयोग गरी रातदिन खटेर नतिजा प्रकाशनमा योगदान दिने सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै छात्रवृत्तिमा सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका छन्।

मेयर आचार्यका अनुसार, SEE परीक्षा उत्तीर्ण गरी महानगर क्षेत्रका संस्थागत विद्यालयहरूमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि महानगरपालिकाले हरेक वर्ष छनोट परीक्षा सञ्चालन गर्दै आएको छ।

यस वर्ष विज्ञान विषयतर्फ १६२ जना, व्यवस्थापनतर्फ २४१ जना, होटल व्यवस्थापनतर्फ ८० जना, र कानुन, मानविकी तथा शिक्षातर्फ १४ जना गरी जम्मा ४९७ जना विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको छ। यो छात्रवृत्ति विपन्न, गरिब, जनजाति, दलित, र जेहेन्दार लगायतका लक्षित समुदायका विद्यार्थीहरूलाई प्रदान गरिनेछ।

यस वर्षको छात्रवृत्ति छनोट परीक्षालाई थप व्यवस्थित, मर्यादित, र विश्वसनीय बनाउन परीक्षणमा समेत OMR प्रविधिको प्रयोग गरिएको मेयर आचार्यले जानकारी दिए। उनले परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्ने बताएका छन्।

साथै, महानगरद्वारा सिफारिस गरिएका विद्यार्थीहरूलाई अनिवार्य भर्नाका लागि सम्बन्धित विद्यालयहरूलाई उनले निर्देशन समेत दिएका छन्।

उत्तीर्ण विद्यार्थीहरूलाई यही असार २५ गतेभित्र शिक्षा महाशाखामा सम्पर्क गरी भर्ना प्रक्रिया अगाडि बढाउन महानगरपालिकाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *