काठमाडाैं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ ।
टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो ।
सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ ।
कस्तो हो ई–सिम
ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोगसँगै नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ ।