काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन् । आज बिहान करिब ३ बजेतिर भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्रबाट ११ जना बगाएर बेपत्ता भएका हुन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएको खबर आएको र बाढीमा फसेका र बेपत्ता भएकाहरुको उद्धार र खोजीमा लागिएको जानकारी दिए ।
बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । बाढीले ड्राइपोर्ट क्षेत्रमा जाँचपासका लागि राखिएका दर्जनाैं ईभी गाडीहरु पनि बगाएको खबर आएको उनले बताए ।
केही व्यक्तिहरूलाई उद्धार गरिएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।