एघार महिनामा व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको हो । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव ६ प्रतिशत, १५ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तरराष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । जलेश्वर र त्रिभुवन अन्तरराष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ३७ अर्ब १३ करोड बराबरको भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलैंचीलगायतका वस्तुको निर्यात घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *