काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनपिङबारे अनेक चर्चा चलाइएकोमा चिनियाँ समाचार समिति सिन्ह्वाले गतिलो जवाफ दिएको छ । भारतीय र पश्चिमा सञ्चार माध्यमको हवाला दिँदै केही नेपाली राष्ट्रिय दैनिक तथा मूलधारका सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार सिन्ह्वाका केही तस्बिरले गलत साबित गरिदिएको छ ।

राष्ट्रपति सिले चीनको मध्यपश्चिममा रहेको सान्सी प्रान्तको याङछुआन नगरमा भएका आर्थिक तथा औद्योगिक विकासको हिजो निरीक्षण भ्रमण गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले सो क्रममा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको समाचारमा जनाइएको छ ।

जापानी आक्रमणको प्रतिरोध युद्धका प्रमुख अभियान,एक सय रेजिमेन्ट अभियानमा शहीद भएका वीरहरूको सम्झनामा निर्मित स्मारक चोकमा उहाँले पुष्पगुच्छा अर्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपछि सो अभियानमा समर्पित स्मृति संग्रहालयको पनि अवलोकन गर्नुभयो ।

याङछुएनस्थित याङछुएन भल्भ कम्पनीको कारखाना पुगेर उत्पादन प्रक्रियाको निरीक्षण गर्नुभएको थियो । कम्पनीका कर्मचारीहरुसँग आत्मीय कुराकानी गर्दै सान्सी प्रान्तले उद्योगहरूको रूपान्तरण,स्तरोन्नति तथा उच्च गुणस्तरीय विकासका लागि गरेको प्रयासबारे जानकारी लिनुभएको समाचारमा जनाइएको छ ।
केही विदेशी सञ्चार माध्यमहरुले राष्ट्रपति सि केही सातादेखि औपचारिक कार्यक्रममा अनुपस्थित रहेको जनाउँदै चिनियाँ राजनीतिमा उतार चढाव आउन लागेको विश्लेषण गरेका थिए । तर, हिजो उहाँ उपस्थित हुनुभएको चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका महत्वपूर्ण कार्यक्रमले ती सञ्चार माध्यमको विश्लेषणलाई असत्य साबित गरिदिएको छ ।जनआस्था अनलाईनबाट