काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरूको पुन:निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिनु भएको छ।
क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिनु भएको हो। भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउने तर्फ लाग्न समेत उहाँको निर्देशन छ। अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरूको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुननिर्माणको योजना बनाउन उहाँको निर्देशन छ।
नेपाल-चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र श्रोत-साधन परिचालन गर्न उहाँले निर्देशन दिनु भएको हो।
बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षा याम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्बद्ध निकायहरूसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले भन्नुभएको छ।
सो सडक बाहेक अन्य सडकहरू तर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उहाँको निर्देशन छ।
सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अध्ययन र गर्नु पर्ने कार्यका लागि विभागको टोली परिचालन भई सकेको छ। गल्छी-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनाबाट क्षति ग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको हो।
बाढी र वर्षाको अवस्था हेरि सडक विभागको जनशक्तिले तत्काल गर्नु पर्ने शुरु गर्दैछ भने अल्पकालिन र दिर्घकालिन रुपमा गर्नु पर्ने कार्यका लागि योजना समेत बनाउने छ। सो क्षेत्रमा गर्नु पर्ने संरक्षण मर्मत र पुननिर्माणका लागि विभागको टोलीले अन्य निकायहरुसँग समेत समन्वय गरि रहेको सडक विभागले जनाएको छ।