काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विद्यार्थीको उत्साहलाई सत्कर्ममा बदल्नुपर्ने बताएकी छिन् ।
काठमाडौंको कान्तिपुर सिटी कलेजका बीबीएका विद्यार्थीहरुले हालै प्रकाशन गरेको जर्नल ‘स्कुलर्स’ को विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले पुस्तक प्रकाशन गर्ने कार्य जटील भएको बताइन् । बीबीए सन् २०२० को व्याचले प्रकाशन गरेको १० औं संस्करणको पुस्तकको चर्चा गर्दै प्रमुख अतिथि राणाले पुस्तक प्रकाशन गर्ने काम आफैंमा समस्या भएको बताइन् । ‘ धेरै सामग्री संकलन गरेर, सम्पूर्ण प्रकारका सामग्रीलाई उचित व्यवस्थापन गरेर पुस्तक प्रकाशन गर्ने विद्यार्थीको यो साहसिक कामको प्रशंसा गर्छु’ उनले भनिन् ‘ हरेक क्षेत्रको बारेमा ज्ञान दिन पुस्तक सफल भएको छ, यो आफैंमा चानचुने कुरा होइन ।’
राणाले नेपालमा जुनसुकै क्षेत्रको पनि राम्रो सम्भावना भएको भए पनि सरकार र निजी क्षेत्रले त्यसलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरिन् । उनले अध्ययनका लागि विदेश गएका विद्यार्र्थीले पनि नेपाल फर्केर आएर केही गरेर देखाउनुपर्नेमा जोड दिइन् । जर्नलमा कृषि, पर्यटन, उर्जा, सूचना प्रविधिलगायतका विभिन्न विषयका लेख रचनाहरु समेटिएका छन् । उनले विद्यार्थीको उत्साहलाई निरन्तरता दिनका लागि पनि आग्रह गरिन् । उनले जुनसुकै क्षेत्रमा पनि व्यवस्थापकीय जिम्मेवारी महत्वपूर्ण हुने भएकाले त्यो अनुसारको भूमिकामा रहने गरी सक्रिय भएर अगाडि बढ्न पनि विद्यार्थीलाई प्रोत्साहित गरिन् । विविध मनोरन्जनात्मक कार्यक्रमसहित भएको विशेष कार्यक्रममा जर्नलको बारेमा विभिन्न व्यक्तिहरुले चर्चा गरेका थिए । २५ वर्षअघि स्थापित कान्तिपुर सिटी कलेजले सन् २००८ देखि बीबीए सञ्चालन गर्दै आएको छ ।