सिद्धबाबा पहिरोले भण्डारी परिवारमा ल्याएको विपत्ति

पाल्पा, साजिलो मिडिया – पाल्पाको रामपुर नगरपालिका वडा नं ६ तालपोखराका सागर भण्डारीले आज घरमा एकाह पूजाको तयारी गरी आफन्तहरू जुटाएका थिए। दरेठाटी माविका स्थायी शिक्षक रहेका भण्डारी परिवारमा मङ्गलवार साँझ ठूलो विपत्ति आइलाग्यो।
सिद्धबाबा क्षेत्रमा मङ्गलवार साँझ झरेको पहिरोमा परेर उनका एक मात्रै छोरा रहेका जनक भण्डारीको मृत्यु भएपछि भण्डारी परिवारमा ठूलो विपत्ति आइलागेको हो।
घटनाको विवरण
बुटवलमा श्रीमतीलाई लोकसेवाको परीक्षा दिएर पाल्पा घर फर्कँदै गरेका रामपुर नगरपालिका वडा नं ६ तालपोखराका जनक-कल्पना भण्डारी दम्पतीले विभिन्न सपना बोकेर हिँडेका थिए।
मङ्गलवार बिहानै दुवै जना मोटरसाइकलमा बुटवल झरेका उनीहरू परीक्षा सकेर घर फर्कने बेलामा भने कसैले नसोचेको विपत्तिमा परे। लोकसेवा आयोगको तयारीमा गरेकी कल्पनाको बुटवलमा दिउँसो पहिलो पत्रको परीक्षा थियो।
बैङ्किङ तयारी गरेकी कल्पनाले परीक्षा दिएपछि खाजा खाएर जनक र कल्पना हतार–हतार घर फर्किँदै थिए। परीक्षा भए पनि बुधवार घरमा एकाहा पूजा भएकाले उनीहरू हतार हतार फर्केको स्थानीयसमेत रहेका अनन्त सिलवाल बताउँछन्।
दुर्घटना कसरी भयो
पाल्पा–रुपन्देहीमा मङ्गलवार बिहान र दिउँसोसम्म ठूलो पानी परेको थिएन तर उनीहरूले परीक्षा सकाएर फर्कने समयअघि ठुलो पानी परेको थियो।
घरमा पूजाको तयारी भएकाले उनीहरू पानी केही कम भएपछि मोटरसाइकलमै घर जानका लागि तयार भएर हिँडेका हुन्। तर सिद्धबाबा मन्दिरपछि केही पर हेडबक्स (जहाँ सिद्धबाबा सुरुङमार्गको माथिल्लो ढोका नजिकै पर्दछ) नजिकै पुग्दा माथिबाट ठूलो ढुंगासहित पहिरो खस्यो।
पहिरो जनकले चलाएको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमै परेको थियो। ढुंगासहितको पहिरोले मोटरसाइकल र जनकलाई पहिरोले लछार्दै राजमार्गबाट झण्डै ८० मिटर तल तिनाउ नदीको किराना पुर्‍याउँदा अचेत रहेका उनलाई तत्काल प्रहरीले उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याए पनि उनी बाँच्न सकेनन्।
अस्पताल पुग्नेवित्तिकै उनलाई मृत घोषित गरियो। अधिकांश कामको लागि बुटवल आउजाउ गर्ने जनक त्यहीँ सधैँ ख्याल गर्ने सिद्धबाबा पहिरोको शिकार बन्न पुगे।
मोटरसाइकल पछाडि रहेकी श्रीमती कल्पना भने ढुंगाले मोटरसाइकलमा लाग्दा उछिटिएर बाटो छेउमै अडिएकाले सामान्य चोट लागे पनि बाँच्न सफल भइन। अहिले उनको उपचार भइरहेको छ। कल्पना आफू बाँचे पनि उनको जीवन र खुसी काखैबाट पहिरोले लगेको छ। सँगै आएका श्रीमानलाई गुमाउनु अकल्पनीय पीडा उनीमाथि आइलागेको छ।
२९ वर्षकी कल्पना पढाइ पूरागरी सरकारी जागिर खाने गरी लोकसेवा आयोगको तयारीमा जुटेकी थिइन्।
साथीहरूको श्रद्धाञ्जलि
भण्डारीका नजिकका साथी हाल काठमाडौँ बस्ने राजाराम घिमिरेले आफूलाई गाउँ जाँदा सधैँ साथ दिने प्रिय पात्रको दुःखद घटनाले स्तब्ध बनाएको बताए। भण्डारी परिवारको एक्लो छोरा ३६ थिए जनक।
“पाल्पा रामपुरले एक होनहार,इमानदार, सरल र समाजसेवी भाइ जनक भण्डारीलाई गुमायो। रामपुर जाँदा मलाई सधैँ दाइ कहिले आउनु भो भनी भेट्न आउने र राजनीति ,सामाजिक र रामपुरको विकासमा छलफल गर्ने प्रिय भाइ मैले गुमाएँ।” उनले भनेका छन्।
जनकको परिचय
जनक एमाले जिल्ला कमिटी पाल्पाका सदस्य तथा रामपुर नगरपालिका वडानम्बर ६ को अध्यक्षका उम्मेदवारसमेत थिए।
रामपुरमा पानी उद्योग चलाउँदै आएका जनक युवामाझ लोकप्रिय तथा समाजसेवीको रूपमा पनि परिचित रहेका एमाले पाल्पाका नेता गुराँस आत्रेय बताउँछन्। “सानो उमेरमै वडाध्यक्षको उम्मेदवार ,नवदुर्गा माविको अध्यक्ष, तालपोखरा संरक्षण समिति सचिव, खानेपानीलगायतमा रहेर सामाजिक कार्यमा अग्रसर युवा अचानक दुर्घटनामा ज्यान गुमाएको खबरले यतिबेला रामपुर स्तब्ध छ।” उनले भने।
जनकलाई नजिकबाट चिन्ने पत्रकार सिता डोटेलका अनुसार उनी देशमै केही गर्नुपर्छ भन्ने सोच राखेर युवालाई उज्यालो भविष्य देखाउने कर्ममा रहेका थिए।
प्रहरी र अस्पतालको बयान
दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक रुम केसीका अनुसार सो घटनामा गम्भीर घाइते जनकलाई तत्काल उद्धार गरिए पनि ढुंगाले गम्भीर चोट लागेका कारण अस्पताल पुर्‍याए पनि बचाउन नसकेको जनाएका छन्।
अन्त्येष्टिको तयारी
बुधवार बिहानै जनकको शव रामपुर लैजाने तयारी भए पनि पहिरोले बाटो बन्द भएका कारण रोकिएको उनका आफन्तले जनाएका छन्। जनक–कल्पनाकी ७ वर्षकी छोरी छन्।
कल्पना अस्पतालमै भएकाले जनकको अन्त्येष्टिमा लैजानेकी कि नलैजाने भन्ने विषयमा आफन्तहरू अलमलमा परेका छन् तर अवस्था धेरै जटिल नभएकाले लैजाने योजना बनेको एक आफन्तले जनाए।

स्राेत: सामाजिक मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *