बिष्णुप्रसाद पोखरेल
दमक। झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ ।
जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ ।
बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रमित भएका छन्, २९ वटा गाईगोरु मरेका छन् । मेचीनगरमा २ हजार गाईगोरुपमा यसको सङ्क्रमण देखिएको र २९ वटाको मृत्यु भएको छ ।
जिल्लाभर पालिकाहरुले लम्पी स्किन फैलन थालेपछि पालिकाहरुले खोप अभियानलाई तीव्र बनाएका छन् । यो रोगबाट जोगाउनका लागि खोप बाहेकको विकल्प नरहेको पशु प्राविधिकहरुले बताउदै आएका छन् । यो रोग फैलिएर गाईगोरु मर्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
जिल्लाभर किसानहरुले पालेका ५७ हजार ३४८ वटा पशुलाई भ्याक्सिन लगाइएको भट्टराईले बताउनुभयो । निशुल्क रुपमा खोपको ब्यवस्थापन हुँदै आएको भट्टराईले बताउनुभयो । दुई वर्ष अघि झापामा लम्पी स्किन रोग महामारीको रूप लिँदा चार हजार ६८५ वटा गाइैगोरु मरेका थिए ।
भैँसीमा पनि देखियो लप्की स्किन
झापामा एउटा भैँसीमा लप्की स्किन देखिएको बताइएको छ । भैँसीमा कमैमात्र यसको सङ्क्रमण हुने गरेको छ । भैँसीहरू मा यो रोग देखिने सम्भावना कम रहेको छ । शारीरिक बनावट र रोग प्रतिरोध प्रणाली गाईभन्दा फरक र बलियो हुने कृषि प्राविधिकहरुको भनाइ छ । खोप भने भैँसीलाई पनि लगाइदै आएको छ ।
भट्टराईका अनुसार लम्पी स्किन रोग एक प्रकारको भाइरसबाट सर्ने गम्भीर रोग हो, जुन मुख्यतया गाईगोरुमा लाग्दछ । यो रोग एक पशुबाट अर्को पशुमा सर्छ । यो सरुवा रोग भएकाले महामारीको रुप लिनेगर्छ । लम्पी स्किन रोगको सबैभन्दा प्रभावकारी रोकथाम खोप हो ।