काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याउँदै छ । गएको शुक्रबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले आज नगरसभामा बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो। आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुने बताइएको छ । त्यसअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्दैछ ।
महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । शुक्रबारनै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको थियो ।
स्थानीय तहले १० असारमा बजेट ल्याउने प्रचलन छ । देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय अर्थात् गएको असार १० मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिले भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन ।