काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २१ साउनभित्र ऐन जारी गर्न अल्टिमेटम दिएको हो ।
‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी कम्तीमा २१ साउन २०८२ अघि पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ ।
ऐन जारी नगरी राज्यले धोका दिएर आन्दोलनतर्फ धकेल्न खोजेको महासंघले दाबी गरेको छ ।