काठमाडौं । वागमति प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले मन्त्रालयको तर्फबाट प्रदेशभर समानुपातिक र समावेशी बजेट वितरण गरिएको बताएका छन् । उनले बजेट वितरणमा आफूमात्रै होइन सम्पूर्ण दलका साथै प्रदेशका नागरिक पनि सन्तुष्ट भएको दाबी गरेका छन् ।
‘आवश्यकताका आधारमा बजेट पारदर्शी हुने गरी वितरण गरिएको छ, कसैले पनि गुनासो गर्ने ठाउँ छैन’ मन्त्री ठकुरीले भने ‘प्रदेशमा १३ वटा जिल्ला छन्, कसैलाई काखा र पाखा गरिएको छैन ।’ मन्त्री ठकुरीले वागमति प्रदेशमा पर्यटनको धेरै सम्भावना भएको बताए । उनले सम्भावनालाई बुुुुुुझेर मन्त्रालयले काम गरिरहेको पनि बताएका छन् । उनले नेपालमा पर्यटनको सम्भावना धेरै भएकाले त्यसको विकास गर्नु र नयाँ गन्तव्यको खोजी गर्ने काममा सरकार क्रियाशील भएको बताएका छन् । उनले विकास सबैको साझा विषय भएकाले त्यो सिद्धान्तलाई आत्मसात गरिएको स्पष्ट पारेका छन् ।
मन्त्री ठकुरीले प्रदेशको नीति तथा कार्यक्रमका आधारमा नै बजेट आएको दाबी गरेका छन् । ‘प्रदेशको सिद्धान्त र प्राथमिकतालाई नै आधार मानेर बजेट ल्याइएको छ, बजेट थोरै भएकाले सबैलाई भनेजस्तो दिन सकिएन होला तर गुनासो गरिहाल्नुपर्ने अवस्था छैन’ मन्त्री ठकुरीले भने ।
मन्त्री ठकुरी काठमाडौं–३ बाट निर्वाचित कांग्रेसका प्रदेशसभाका सांसद हुन् । ‘जनताको र प्रदेशको हित नै मेरो मुख्य उद्येश्य हो’ मन्त्री ठकुरीले भने ‘जनतालाई अधिकतम सुविधा दिन र प्रत्येक नागरिकको समस्या सुनेर समाधान गर्न सरकार लागिरहेको छ ।’ अन्य प्रदेशमा बजेटको बारेमा कतिपय ठाउँमा गुनासो भइरहेको भन्दै उनले थपे ‘ बजेट वितरणको मापदण्डलाई ख्याल गरेर सबै नागरिक एउटै हुन् भनेर सोच्ने हो भनें कुनै समस्या हुँदैन, ‘तेरो र मेरो’ गरेर कसैलाई विभेद गर्छु भन्ने सोचियो भने समस्या हुन्छ ।’