चालु आर्थिक वर्षमा ५.८ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल हुने प्रक्षेपण

काठमाडौं। केन्द्रीय तथ्याङ्क विभागले चालु आवको ६ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरुको आंकडा तथा सूचनाहरुको आधारमा चालु आर्थिक वर्ष २०७८÷७९ का लागि ५.८ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

गत आव २०७७÷७८ मा ३.८३ प्रतिशत रहने अनुमान गरेको थियो । सरकारले भने बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । विभागको आंकलन सरकारी लक्ष्यभन्दा १.२० प्रतिशत कम रहेको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४.१० प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागले चालु आर्थिक वर्षका लागि वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको बताएको छ ।

चालु आर्थिक वर्षको ९ महिना अवधिको यथार्थ तथ्यांक र बाँकी तीन महिनाको अनुमानका आधारमा यो तथ्यांक सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगको वृद्धिदर १०.३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us