काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेबाट सत्ता गठबन्धनलाई धोका भएको टिप्पणी गरेका छन् । एमालेका सांसदहरूले राष्ट्रियसभामा पेस भएको संघीय निजामती सेवा विधेयकमा संशोधन हालेको भन्दै शेखरले खरो टिप्पणी गरेका हुन् ।
उनले यो कदम गठबन्धनका लागि आपत्तिजनक हुने बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
उनले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने र सबै मिलेर एमालेले हालेको संशोधन पास हुन नदिनुपर्नेमा जोड दिएका छन् । एमाले सांसदहरूले कर्मचारीहरूका लागि अवकाशपछि कुलिङ पिरियड राख्न नहुने भन्दै संशोधन हालेका हुन् ।
यसमा आपत्ति जनाउँदै शेखरले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।’