काठमाडाैं । २४औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ र २३ गते हुने जनाएको हो ।
यस प्रतियोगिता १९औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराउनुभयाे ।
प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरी करिब १ सय ५० जना खेलाडीको सहभागीता हुने संघले जनाएको छ।
दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९औँ विश्व पौडी प्रतियोगिता, नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एशियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएको छ ।