काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म मार्न नसकेको टिप्पणी गरेका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे ।
उनले एक पछि अर्को भ्रष्टाचारका काण्डहरू देखा परेको भन्दै भ्रष्टहरूले देशमा शासन गरिरहेको बताए । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने उनले बताए ।
हरेक दिन २५ सय नेपालीहरू विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै उनले प्रश्न गरे ।
सम्मानित नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिस्ट आन्दोलन भड्किएको बताए। ०६२/०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको उनले बताए ।