अनुदान कटौतीको बिरोध गर्दै उखु किसान आन्दोलित

सर्लाही । सरकारले अनुदान रकम कटौती गरेपछि उखु किसान आन्दोलनको तयारीमा जुटेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको छैन । २०६६ सालदेखि निरन्तर प्राप्त गर्दै आइरहेको अनुदान रकम कटौती हुँदा उखु किसान आन्दोलनको तयारीमा जुटेका हुन् ।

उखु उत्पादक किसान सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले उखुको अनुदान कटौती गर्ने निर्णयविरुद्ध साउन १५ पछि सशक्त आन्दोलनमा उत्रने तयारी गरिएको जानकारी दिनुभयो । गत वर्षकै अनुदानसमेत आधा कटौती गरेर प्रतिक्विन्टल ७० रुपियाँको साटो ३५ रुपियाँ मात्रै दिने तयारी भइरहेकोप्रति उप्रेतीले आक्रोश व्यक्त गर्नुभयो ।

सरकारले अनुदान रकम कटौती गर्दा किसान उखु खेतीबाट पछि हट्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

“१६ वर्षदेखि पाउँदै आएको अनुदान रकम कटौती गर्ने निर्णयले अब उखु खेती गर्ने किसान नै हुँदैनन्,” उप्रेतीले भन्नुभयो, “हामीले लामो सङ्घर्ष गरेर अनुदान प्राप्त गरेका थियौँ । अब फेरि यसलाई निरन्तरता दिन अर्को सशक्त आन्दोलनको तयारी गर्दै छौँ ।”

यसअघि प्रत्येक वर्ष उखुको मूल्य निर्धारण गर्ने समयमै लागत अनुसार मूल्य नतोकिँदा हतोत्साही हुने गरेका किसान सरकारले अब अनुदानसमेत कटौतीपछि निराश बनेका उप्रेतीको भनाइ छ ।

अध्यक्ष उप्रेतीले चिनी उत्पादन भएपछि भ्याटबाट मात्रै राज्यले दुई अर्ब राजस्व उठाउने र त्यसबाट उखु किसानलाई अनुदान दिँदा डेढ अर्ब मात्रै खर्च हुने भएकाले राजस्वको बहाना गरेर किसानले पाउँदै आएको अनुदान रकम कटौती गर्न नमिल्ने तर्क गर्नुभयो ।

सर्लाहीको हरिवन नगरपालिका–७, घुर्कौलीका किसान देवराज चौलागाईंले उखुको अनुदान रकम कटौती गरेपछि किसानलाई ठुलो मर्का पर्ने गुनासो गर्नुभयो । किसानलाई सहुलियत दिनुपर्ने अवस्थामा पाउँदै आएको अनुदानसमेत कटौती गरेर उखु खेती नै छाड्ने अवस्थामा पु¥याएको चौलागाईंले बताउनुभयो ।

यो वर्षदेखि उखुमा अनुदान दिन बजेट विनियोजन नगरेको सरकारले गत वर्ष मङ्सिरदेखि चैतभित्रमा चिनी मिललाई उखु बिक्री गरेका किसानलाई अनुदान रकम दिन सकेको छैन । उखु खेती हुने प्रत्येक जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले गत वर्षको उखु क्रसिङ परिमाणको विवरण अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंले जिल्लाका तीन वटा चिनी मिलमा गत वर्ष उखु किसानले बिक्री गरेको ५३ करोड ४२ लाख ७९१.१३ क्विन्टल उखुको ३७ करोड ३९ लाख ९५ हजार ३७९ रुपियाँ १० पैसा अनुदान रकम निकासा गरिदिन माग गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *