काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छिमेकी मुलुक चीनको साताव्यापी भ्रमण गर्नुभएको छ । नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेशका अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पाण्डेले त्यहाँ रहँदा सिचाङ स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव वाङ च्वीनचङसँग भेटवार्ता गर्नुभएको थियो ।
भेटका क्रममा उहाँले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्यको प्रस्ताव गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो ।
तिब्बत नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरुबाट काठमाडौँ र पोखरामा सीधा हवाई उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभएको थियो ।
नेपाली र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिसा र प्रवेशपास उपलब्धतामा सहजीकरण र सहकार्य गर्नेलगायतका विषयमा महासचिव च्वीनचङ र मुख्यमन्त्री पाण्डेबीच कुराकानी भएको प्रेस संयोजक सापकोटाले बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधार, पर्यटन प्रवर्द्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गर्नुभएको न्यूजपोलार अनलाइनले जनाएको छ ।
‘सिपिसी’का महासचिव वाङ च्वीनचङले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारले गरिरहेको प्रयासबारे आफू जानकार रहेको बताउँदै त्यसले दुई देशबीचको सहकार्यको अवसर सिर्जना गर्ने र यसबारे तिब्बत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । दुई देशबीच पर्यटन, कृषि, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार तयार रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेसँग ‘सिपिसी’का लिन्जी नगर समितिका सचिव र सो नगरका प्रमुखसँग पनि भेट गर्नुभएको थियो ।