काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवमा बधाई सन्देश आदानप्रदान भएको छ । आज भएको सन्देश आदानप्रदानमा राष्ट्रपति सिले चीन–नेपाल सम्बन्ध समानता,आपसी सम्मान र पारस्परिक सहयोगको नमूना भएको उल्लेख गर्नुभएको चिनियाँ सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
सिसिटिभी प्लस,चाइना डेली,सिन्ह्वा समाचार समिति,सिजिटिएनले प्रकाशित गरेको समाचारअनुसार राष्ट्रपति सिले परम्परागत मित्रता सुदृढ गर्दै क्षेत्रीय शान्ति र समृद्धिका लागि सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रत्युत्तरमा राष्ट्रपति पौडेलले नेपाल–चीन सम्बन्ध समयको परीक्षा उत्तीर्ण भएको उल्लेख गर्नुभएको छ । चीनको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले ‘एक चीन नीति’मा नेपालको अडान दोहोर्याउनुभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
आजै प्रधानमन्त्री तहमा पनि बधाई आदानप्रदान भएको छ । दुबै देशले बेल्ट एन्ड रोड इनिसियटिभ्सलगायत सहकार्य विस्तार गरी द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्यिाङले जनाउनुभएको हो ।
यता, राष्ट्रपति कार्यालय शीतल निवासले यसबारे औपचारिक रुपमा जानकारी गराएको छैन । अपरान्ह जनआस्थाले राखेको जिज्ञासामा राष्ट्रपति कार्यालयको सचिवालयले दुई मुलुकका राष्ट्रपतिबीच बधाई आदानप्रदान भएकोबारे आफूहरुलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको थियो ।जनआस्था