काठमाडौं। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्तारूढ गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय गरेको थियो। केन्द्रको उक्त निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन्। देशका अरू विभिन्न भागमा पनि गठबन्धनका स्थानीय नेताले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्।
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। सत्तारूढ गठबन्धनका नेताहरूले आज साँझसम्म त्यस्ता उम्मेदवारी फिर्ता गरेर साझा उम्मेदवार बनाउने भनेका थिए। भरतपुर, जनकपुरजस्ता ठाउँमा बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।
उम्मेदवारी फिर्ता लिन केही घन्टा बाँकी रहेका बेला गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सहभागी छन्।