न्यायका पक्षमा एकजुट भए ट्रेड युनियन र जी फोर्सका श्रमिक

काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र जी फोर्स सेक्युरिटी सर्भिसमा कार्यरत कर्मचारीहरूबीच अन्तरक्रियात्मक भेला सम्पन्न भएको छ। शनिबार काठमाडौंको बागबजारमा नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक ट्रेड युनियन र जी फोर्स सेक्युरिटीले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन्।

भेलालाई सम्बोधन गर्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले श्रमिकका हकहित सुनिश्चित गर्न अब अन्तर्राष्ट्रिय मानव अधिकार आयोगसम्म अपिल गर्न तयार रहेको बताए। उनले ठेकेदारी प्रथाले सार्वजनिक खरिद ऐनको नाममा श्रमिकको मानव अधिकारमाथि हस्तक्षेप गरिरहेको भन्दै त्यसविरुद्ध कडा रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए।

संस्थाका उपाध्यक्ष उद्वव प्रसाद दाहालले श्रमिकका हकमा अदालतमा दायर गरिएका मुद्दा प्रायः श्रमिकको पक्षमा फैसला भएको उल्लेख गर्दै ढिलो भए पनि न्याय पाइएकोमा सन्तोष व्यक्त गरे। उनले संगठनको पहलमा श्रमिकले न्याय पाएका धेरै उदाहरण रहेको र त्यसक्रममा ठेकेदारहरू भाग्ने अवस्थासमेत सिर्जना भएको जानकारी दिए।

महासचिव वेद प्रसाद हुमागाईंले आफू विश्वविद्यालयको २० लाख बराबरको सुविधा त्यागेर श्रमिकको पक्षमा वकालत गरिरहेको र त्यसप्रति कुनै पछुतो नभएको बताए। उनले आफ्ना प्रयासबाट श्रमिकले न्याय पाएको सुन्दा आत्मसन्तोष मिल्ने र रोजगारी तथा जीविकाको ग्यारेन्टी हुन थालेको दाबी गरे। साथै उनले संगठनमा अझ धेरै श्रमिक सहभागी भई संगठन सुदृढ बनाउन अपिलसमेत गरे।

कार्यक्रममा नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनका केन्द्रीय महासचिव पूर्ण बहादुर थापा, नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन काठमाडौं अध्यक्ष ललित बहादुर खतिवडा लगायत मजदुर नेताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा २० जना भन्दा बढी सुरक्षाकर्मीलाई संगठनको सदस्यता कार्ड वितरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन मजदुर नेता भोला बस्नेतले गरेका थिए भने सभापतित्व जी फोर्स सेक्युरिटी सर्भिस प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बस्नेतले गरेका थिए। भेलामा ८० भन्दा बढी सुरक्षा श्रमिकहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *