पतञ्जलि भ्रष्टाचार प्रकरण : मुख्य अभियुक्त शालिग्राम सिंह ३५ लाख धरौटीमा छुटे

काठमाडौं । पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैङ्क ग्यारेन्टी बुझाएर छुटेका हुन् ।

यसै प्रकरणका अर्का अभियुक्त पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । सोही इजलासमा आइतबार नै उनीहरू दुवै जनासँग बयान लिइएको थियो । त्यसपछि थुनछेक बहस भएको थियो ।

नेपालमा कम्पनी खोल्नेदेखि व्यावसायिक कारोबार गर्ने सम्पूर्ण जिम्मेवारी पाएका शालिग्राम सिंह यस प्रकरणका मुख्य अभियुक्त हुन् ।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो । नेपाल नेतृत्वको सरकारले उक्त जग्गा फरक प्रयोजनमा बेच्न स्वीकृति दिएको थियो ।

हदबन्दी छुट दिँदा र त्यस्तो छुट पाएको जग्गा बेच्ने अनुमति दिँदा पनि भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि पूर्वप्रधानमन्त्री नेपाल यसै प्रकरणमा ३५ धरौटीमै छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *