कोटाको मल टुट्यो, निजी कम्पनीको महँगो मलमा आश्रित बने बाँकेका किसान

नेपालगन्ज । बाँकेमा कोटामा प्राप्त हुने रासायनिक मलको अभावले किसानहरू वैकल्पिक समाधानतर्फ धकेलिएका छन् । अनुदानको मल नपाएपछि स्थानीय तहले निजी कम्पनीबाट ल्याइएको महँगो रासायनिक मल बिक्री वितरण गर्न थालेका छन्।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकका अनुसार मोरङमा उत्पादन भएको ‘सुन्दर मल’ नामक मिश्रित रासायनिक मल हाल गाउँपालिकाका १५ सहकारीमार्फत वितरण भइरहेको छ। “किसानले यो मल रुचाएका छन्, माग दिनहुँ बढ्दो छ,” उनले जानकारी दिए।

१४ हजार घरधुरी रहेको गाउँपालिकाले कोटामा जम्मा ९०० बोरा मात्र युरिया मल पाएपछि बाँकी माग धान्न विकल्पका रूपमा सो मल ल्याइएको हो। अहिलेसम्म १,५०० बोरा मल वितरण भइसकेको अध्यक्ष विकको भनाइ छ।

नेपालगन्जस्थित जिल्ला सहकारी संघ, बाँकेको कार्यालयमा समेत सो मल उपलब्ध गराइएको छ। प्रवन्ध सञ्चालक नवराज उपाध्यायका अनुसार ५०० बोरा मध्ये १५० बोरा मल एकैदिनमा वितरण भइसकेको छ। “जानकी र डुडुवा गाउँपालिकाबाट समेत किसान मल लिन आएका छन्,” उपाध्यायले भने।

तर, सो मलको मूल्य भने सस्तो छैन। एक बोरा मलको मूल्य २,५०० रुपैयाँ पर्ने हुँदा यो किसानका लागि महँगो सावित भइरहेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले भने कोटाअनुसार युरिया मल वितरण गरिएको जनाए। उनले मागअनुसार मल आपूर्ति हुन नसकेको स्वीकार्दै खरिद चरणमै बजेटको व्यवस्थापन सबल भए मात्रै समस्या समाधान हुने बताए।
मल अभाव गम्भीर बन्दै जाँदा बाँकेमा थप युरिया मल पठाउने पहल भइरहेको समेत श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *