गुलरियामा १४ महिलाको सामूहिक पहलमा चप्पल कारखाना सञ्चालन

स्थानीय सरकारको तालिमपछि सुरु गरिएको व्यवसाय घरदैलो बिक्रीमार्फत आम्दानीमा रूपान्तरण

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा १४ जना महिलाले सामूहिक रूपमा चप्पल कारखाना सञ्चालनमा ल्याएका छन्। महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम कार्यक्रमअन्तर्गत तालिम पाएपछि उनीहरूले व्यवसाय सुरु गरेका हुन्।

गुलरिया नगरपालिकाले ३० महिलालाई सात दिनको चप्पल बनाउने तालिम दिएको थियो। तालिमपछि १४ महिलाले मिलेर चप्पल उत्पादन सुरु गरेका हुन्। तालिमसँगै नगरपालिका आफैंले आवश्यक मेसिन, कच्चा पदार्थ र प्राविधिक सहयोग पनि उपलब्ध गराएको थियो।

“सुरुमा हामीलाई केही थाहा थिएन, तालिमपछि सिक्दै चप्पल कारखाना खोल्ने निर्णयमा पुग्यौं,” गुलरिया–६ श्रीराम टोलकी सहभागी रमा श्रेष्ठले भनिन्।

हाल उनीहरूले महिलाहरू र पुरुषहरूका लागि उपयुक्त चप्पल उत्पादन गरिरहेका छन्, जुन स्थानीयस्तरमा घरदैलो बिक्रीमार्फत बिक्री भइरहेको छ। सहभागी सीता गोडियाले यसरी आम्दानी सुरु भएको जानकारी दिइन्।

वडा नं. ६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्माले तालिमपछि मेसिन र केही कच्चा पदार्थ उपलब्ध गराइएको बताए। नगरप्रमुख मुक्तिनाथ यादवले महिलाको यो प्रयास प्रेरणादायी रहेको भन्दै आगामी वर्षहरूमा पनि सहयोग निरन्तर गरिने र बजार विस्तारमा विशेष ध्यान दिइने प्रतिवद्धता जनाए।

हाल गुलरिया बजार र आसपासका गाउँहरूमा चप्पल बिक्री भइरहेको छ भने महिलाहरूले उत्पादनको परिमाण र गुणस्तर बढाउँदै जिल्लाबाहिरका बजारमा पु¥याउने लक्ष्य लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *