धर्म, संस्कृति र इतिहास बोकेका भक्तपुरका नौ पवित्र हिटीहरू संरक्षणको पर्खाइमा

भक्तपुर । नेपालका पुरातात्त्विक नगरमध्ये अग्रणी मानिने भक्तपुरका हिटीहरू केवल पानीको स्रोत मात्र होइनन्, ती धर्म, संस्कृति, वास्तुकला र जनजीवनसँग गहिरो रूपमा गाँसिएका जीवित सम्पदा हुन्। विशेषतः भक्तपुरका नौ हिटी धार्मिक, सांस्कृतिक र औषधीय दृष्टिले विशेष महत्व बोकेका ऐतिहासिक धरोहर हुन्, जसको संरक्षण र पुनर्जीवन अहिलेको आवश्यकता बनेको छ।

जनविश्वास अनुसार, गुन्हुपुन्हि (जनै पूर्णिमा) का दिन नौ हिटीमा स्नान गरी पूजा गरेमा विभिन्न रोगको निवारण हुन्छ र पुण्य प्राप्त हुन्छ। लिच्छवीकालदेखि मल्लकालसम्मका वास्तुकलामा आधारित यी हिटीहरूमा स्नान गरेपछि जल चढाएर देवीदेवताको दर्शन गर्ने परम्परा अझै जीवित छ। स्वकी अजिमा हिटी, वासिकचा हिटी, त्रिपुरासुन्दरी विद्यापीठ हिटी, नासमना हिटी, बुलुबुलु हिटी, इनारे हिटी, लुखा हिटी, भूइसाहु हिटी र भिसिंद्यो हिटी — यी सबै हिटीहरू भक्तपुरको ऐतिहासिक र धार्मिक नक्सामा विशेष महत्वका स्थल हुन्।

तर, तीमध्ये धेरै हिटी संरक्षण अभावका कारण पुरिँदै, सुख्खा बन्दै वा व्यापारिक प्रयोजनमा निजीकरण हुँदै गएका छन्। कतिपय हिटीहरूमा अहिले पानी नै छैन भने केही हिटी वर्षायाममा मात्रै सक्रिय हुन्छन्। इनारे हिटी, जसबाट सूर्यविनायक गणेश मन्दिरका मूर्तिहरू स्नान गराइन्छ; वा त्रिपुरा दरबारको त्रिपुरासुन्दरी हिटी, जहाँ देवी–देवताका मूर्तिसमेत छन् , अहिले पानीको मुहान सुक्न थालेको छ।

हिटीहरूमा गोमुख, अजामुख, गजामुख, व्याघ्रमुख र मकरमुख जस्ता कलात्मक पानी निस्कने संरचनाहरू छन्, जुन वास्तुशास्त्रका अनुपम नमुना हुन्। धार्मिक मान्यता अनुसार, पूर्वमुखी हिटीहरूले रोग निवारण गर्ने, पश्चिममुखी हिटीहरूले नगर हित गर्ने, उत्तरमुखीले महादेवलाई जल चढाउने र दक्षिणमुखी हिटीहरूले पितृ तर्पण जनाउने संकेत गर्छन्।

पुरातत्वविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार, भक्तपुरका नौ हिटी नवदुर्गा र नवग्रहको प्रतीकको रूपमा लिइन सकिन्छ। यी हिटीहरू केवल पूजास्थल होइनन्, स्वास्थ्य, समृद्धि र सद्भावको प्रतीक पनि हुन्। तर आज, ती हिटीहरूको वास्तविक स्थिति भने जिर्ण, उपेक्षित र संरक्षणको पर्खाइमा रहेको छ।

भक्तपुरमा हाल १०३ हिटीमध्ये करिब ७० मात्र बाँकी छन्, तीमध्ये नौ पवित्र हिटीलाई प्राथमिकता दिई संरक्षण गर्न सके, नगरको सांस्कृतिक पुनर्जागरण र सौन्दर्यकरणमा ठुलो टेवा पुग्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *