ताप्लेजुङ । ताप्लेजुङका किसान अलैँची खेतीतर्फ तीव्र रूपमा आकर्षित भएका छन्। पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रूपमा बढेपछि धान, मकै, कोदो जस्ता खाद्यान्न बाली उत्पादन हुने खेत मासेर किसानले अलैँची रोप्न थालेका हुन्।
गत आर्थिक वर्षमा प्रतिमन (४० किलो) एक लाख १५ हजार रुपैयाँसम्म मूल्य पाएको अलैँचीबाट खाद्यान्न बालीको भन्दा धेरै गुणा बढी आम्दानी हुने सम्भावना देखेपछि किसान उत्साहित बनेका छन्।
मिक्वाखोला गाउँपालिका–४ साँवाका इन्द्र थलङ लिम्बूले यस वर्ष ३० रोपनी जमिनमा अलैँची खेती विस्तार गरेका छन्। उनले पुराना बगानको स्याहारसम्भार गर्दै खाली जमिनमा नयाँ बिरुवा रोपेका छन्। मिक्वाखोलाकै विनोद साँवा लिम्बू र सिरिजङ्घा गाउँपालिका–७ खेबाङका नेत्र आचार्यले पनि यस वर्ष खेती विस्तार गरेको बताए।
फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका क्षितिज लिङ्खिम लिम्बूका अनुसार गाउँका धेरै किसानले नयाँ बगान लगाएका छन्। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवी रेग्मीका अनुसार ८–१० वर्षको मूल्य गिरावटपछि किसान वैकल्पिक पेशातर्फ मोडिएका थिए तर पछिल्लो वर्ष मूल्य वृद्धि भएपछि पुनः खेतीतर्फ फर्किएका हुन्।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार हाल जिल्लाको नौ स्थानीय तहअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती भइरहेको छ। केन्द्रका तथ्याङ्कअनुसार ४,१६५ हेक्टर क्षेत्रमा अलैँची खेती हुँदै आएको छ, र यस वर्ष खेती क्षेत्र अझै बढ्ने अनुमान गरिएको छ।
किसानले जेठ दोस्रो साता देखी साउनको अन्तिमसम्म अलैँचीको बिरुवा रोप्ने गर्छन्। बिरुवा रोपेको तीन वर्षपछि फल लाग्न थाल्छ।