इलाम । ज्याला वृद्धि र सेवा–सुविधा सुधारको माग गर्दै झापाका चिया श्रमिक आन्दोलित भएका छन्। आन्दोलनका कारण भद्रपुर–२ स्थित गौरीशङ्कर, सूर्य, ऋद्धिगणेश र मेचीनगर–३ को नाज टी स्टेटका काम पूर्णरूपमा ठप्प छन्।
नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईका अनुसार साउन १८ देखि भद्रपुर र साउन २० देखि मेचीनगरमा काम बन्द गरी श्रमिक आन्दोलनमा उत्रिएका हुन्। युनियनसहित नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन्।
श्रमिकले सरकारले अन्य क्षेत्रमा १३ प्रतिशत ज्याला वृद्धि गरे पनि चिया श्रमिकलाई उपेक्षा गरेको, सम्झौताबिनै काम लगाएको र सामाजिक सुरक्षा सुविधाबाट वञ्चित पारेको आरोप लगाएका छन्। श्रमिकहरूले २०८२ वैशाख ३१ गते नै ३० दिने अल्टिमेटम दिए पनि रोजगारदाता वार्तामा नआएको उनीहरूको भनाइ छ।
हाल गौरीशङ्करमा ७०, ऋद्धिगणेशमा २५, सूर्यमा ७० र नाज टी स्टेटमा ६५ श्रमिक कार्यरत छन्। बिहीबार भद्रपुरमा श्रमिक र नेपाल चिया उत्पादक सङ्घबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ।
रोजगारदाताले दुई वर्षमा प्रतिदिन ५० रुपैयाँ बढाउने, जसअन्तर्गत यस वर्ष २५ र अर्को वर्ष थप २५ रुपैयाँ वृद्धि गर्ने प्रस्ताव राखे पनि श्रमिक पक्षले अस्वीकार गरेको छ। उनीहरूको माग प्रतिदिन ५ सय रुपैयाँको ज्यालामा १३ प्रतिशत (६५ रुपैयाँ) तत्काल वृद्धि गर्नु रहेको छ।