कैलालीका ग्रामीण सडक हिलाम्मे, वर्षातमा आवतजावत गर्न कठिनाइ

धनगढी । अविरल वर्षाले कैलालीको ग्रामीण क्षेत्रका धेरै सडक हिलाम्मे बनेका छन्, जसका कारण स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भोग्नुपरेको छ। विकासमा फड्को मारेको धनगढी उपमहानगरपालिकामै पनि कतिपय सडक पानी र हिलोले बेहाल भएका छन्।

धनगढी गाउँ–घुइयाघाट–जुगेडा जोड्ने बाटो लामो समयदेखि अपूरो रहेकाले वर्षातमा समस्या झन् चर्किएको धनगढी उपमहानगरपालिका–८ का स्थानीय तुला बखरियाले बताए। चौराहादेखि पाँच सय मिटर सडक प्रदेश सरकारको लगानीमा यसै वर्ष कालोपत्रे भए पनि बाँकी भागमा ग्राभेल र खाल्टाखुल्टी मात्र छ। दश वर्षभन्दा लामो समयदेखि सडक बिग्रिएको तर निर्माण नहुने गरेको स्थानीयको गुनासो छ।

यस्तै, कैलारी गाउँपालिका–६ को खरुवाखेरादेखि खरेट्टी राजीपुर जोड्ने बाटो पनि खेतजस्तो हिलाम्मे बनेको छ। स्थानीय सागर चौधरीका अनुसार, अरू मुख्य सडक पिच भए पनि यो सडकलाई जनप्रतिनिधिले उपेक्षा गरेका छन्।

वडाध्यक्ष प्रेमबहादुर चौधरीका अनुसार, सडक मर्मतमा अहिलेसम्म ४०–५० लाख रुपैयाँ खर्च भइसकेको छ। तर यो बाटोमा ढुङ्गा, गिट्टी, बालुवा बोक्ने ठूला गाडी गुड्ने भएकाले पानी परेपछि सडक दबिन्छ र हिलो जम्छ, जसले आवतजावत झन् कठिन बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *