भैँसी पालनले आत्मनिर्भर खिमा: प्युठानकी युवतीको मासिक ५० हजार आम्दानी

प्युठान । प्युठान नगरपालिका–७, टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ। भैँसीको स्याहार–सम्भार, दूध दुहुनेदेखि बजार पु¥याउनेसम्मको काम अहिले उनका लागि पेसाभन्दा पनि जीवनशैली बनेको छ।

तीन वर्षअघि कपिलवस्तुबाट तीन वटा भैँसी किनेर सुरु गरिएको पशुपालन व्यवसाय अहिले ‘प्रगति कृषि तथा पशुपक्षी फार्म’ को रूपमा परिचित छ। हाल उहाँसँग १० वटा हरियाना जातका मुर्रा भैँसी छन्, जसमध्ये चार दुहुना छन्। तीबाट दैनिक ५५–६० लिटर दूध उत्पादन हुन्छ, जसको प्रतिलिटर डेरीमा ८० र घरमै ग्राहकलाई १०० रुपैयाँमा बिक्री हुन्छ।

यस व्यवसायबाट खिमा मासिक झन्डै ५० हजार रुपैयाँ आम्दानी गरिरहनुभएको छ। सुरुमा गोठ निर्माण र भैँसी खरिदमा सात लाख रुपैयाँ लगानी गरेकी उहाँले हालसम्म करिब १५ लाख रुपैयाँ लगानी गरिसक्नुभएको छ।

‘श्रीमान् ट्राफिक प्रहरीमा हुनुहुन्छ। उहाँको मात्र तलबले घर खर्च चलाउन गाह्रो थियो,’ खिमाले भनिन्, ‘भैँसी पालनपछि आम्दानी मात्र होइन, आत्मविश्वास पनि बढेको छ।’

चार रोपनी जग्गामा हरियो घाँस उत्पादन गर्दै आउनुभएकी खिमा सुख्खा समयमा बाहिरी क्षेत्रबाट पराल र गहुँको भूसा खरिद गरेर व्यवस्थापन गर्छिन्। श्रीमान्, सासूआमा र परिवारको सहयोगमा व्यवसायलाई अझ विस्तार गर्ने योजना पनि बनाइसक्नुभएको छ।

प्युठान नगरपालिकाको पशु विकास शाखाबाट प्राविधिक सल्लाह लिँदै आउनुभएकी उहाँले हाल झिमरुक पशुपक्षी तथा मत्स्य सहकारीमार्फत बाग्दुलामा दूध बिक्री गर्दै आउनुभएको छ। सहकारीमार्फत दूधमा अनुदान पाउने भएकाले उहाँले बिक्री प्रणालीलाई अझ व्यवस्थित बनाउन घरमै प्लास्टिक प्याकिङ गर्ने अभ्यास पनि सुरु गर्नुभएको छ।

खिमा केसी अहिले स्थानीय स्तरमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *