देशभर गाईजात्रा उत्सव: हास्यव्यंग्य र सांस्कृतिक रौनकसहित उपत्यकामा विशेष धुमधाम

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित देशभर धुमधामका साथ मनाइँदैछ। उपत्यकामा विभिन्न सांस्कृतिक कार्यक्रम, हास्यव्यंग्य, नाचगान र नगरपरिक्रमा गरी विशेष उत्सवको माहोल छाएको छ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूप दिएर परिक्रमा गराउने प्रथासँगै दूध, फलफूल, चिउरा, दही, र अन्न दान गर्ने चलन यस पर्वको विशेषता हो। धार्मिक विश्वास अनुसार यसरी नगरपरिक्रमा गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी पार गर्छन्।

ऐतिहासिक रुपमा, राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी रानीलाई संसारको शोक देखाउन गाईजात्रा सुरु गराएको जनश्रुति छ। त्यसपछि यसमा हास्यव्यंग्य, सामाजिक विकृति उजागर गर्ने र मनोरञ्जनात्मक प्रस्तुति गर्ने परम्परा कायम रह्यो।

पाटनमा देखाइने सत्ययुगको धान–चामलको नमूना, काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण–रजताक्षरमा लेखिएका पुस्तक, र अन्य सांस्कृतिक झाँकी विशेष आकर्षणका रुपमा छन्।

आज काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, दोलखा, धरान, विराटनगर, हेटौँडा, पोखरा लगायत नेवार समुदायको उपस्थिति भएका सहरमा गाईजात्रा विशेष रौनकका साथ मनाइँदैछ। सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *