काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरूले पनि नेपालीसरह हवाई भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ। शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८, ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनु भएको हो।
नेपालीले विदेश जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै उनले नेपालमा पनि विदेशीलाई नेपाली सरह भाडादर कायम गर्न आवश्यक रहेको बताउनु भयो। नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत गोदारले भाडा समान नभएको गुनासो गरेको कुरा वहाँले उल्लेख गर्नु भयो।
वहाँले आन्तरिक वायुसेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले शौचालय र यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरूलाई ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।