बर्दिया । धानको बाली हरियो हुने बेला युरिया मलको अभावले बर्दियाका कृषकहरु कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सहकारीबाट मल नपाएर चिन्तित बनेका छन्। यही समस्याका कारण गुलरिया–७ का कृषकले आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
नगर क्षेत्रमा कृषकहरूले माग अनुसार मल नपाएकोले धान उत्पादनमा असर पर्ने जोखिम बढ्दै गएको छ। मल खोज्दै कृषकहरूले दिनभर सहकारी संस्थामा धाउँदा असमर्थता भएपछि प्रशासन कार्यालयमा पुगेर धर्ना दिन बाध्य भएका हुन्।
केही कृषक भने जोखिम मोलेर महँगो मूल्यमा भारतबाट मल ल्याउने योजना बनाइरहेका छन्। वडा नं. ७ मा मल वितरणको जिम्मेवारी रहेको रातो तारा बहुउद्देश्यीय सहकारी संस्थाले आवश्यक मल नपाएको र त्यसले आपूर्तिमा समस्या आएको जनाएको छ।
सहकारीका अध्यक्ष मेघराज सिग्देलका अनुसार, १५० बोरा युरिया मल आवश्यक परे पनि अहिलेसम्म जम्मा ५२ बोरा मात्र प्राप्त भएको छ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले पनि बर्दियामा असार महिनाभरि १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने बताउँदै, विगत वर्षहरूमा मागअनुसार मल आपूर्ति हुन नसकेको स्वीकार गर्नुभयो।
कृषकहरूलाई आवश्यक मल उपलब्ध गराउन प्रशासनसँग तुरुन्त पहल गर्नुपर्ने अवस्था आएको छ।