काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनु भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताउनु भयो।
पार्टी गठनको आठ महिना मात्रै भए पनि ठूलो सफलता हासिल गरेको नेपालको दाबी छ। ‘यो निर्माण गरेको आठ महिना भएको छ,’ वहाँले भन्नुभयो, ‘यो निर्माण भएको आठ महिना भित्र हामीले धेरै ठूलो सफलता हासिल गरेका छौं ।’
वहाँले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित भएको उल्लेख गर्नुभयो। वहाँले भन्नुभयो, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रूपमा मनोनयन दर्ता भएका केही व्यक्तिमध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा (एकीकृत समाजवादी) सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित भए। एक जना उपाध्यक्ष, ६ जना वडाध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ।’
वहाँले गठबन्धनमा आबद्ध दल सामूहिक रूपमा अगाडि बढ्नुपर्ने र गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताउनु भयो।स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तल–माथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताए।
वहाँले भन्नुभयो, ‘उम्मेदवारीबारे तल–माथि भएको होला कतिपय ठाउँमा। हाम्रा दुखेसा होलान्। आलोचना पनि होलान्, हाम्रा गठबन्धनका अन्य पार्टीप्रति। त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला। त्यस्तो गर्न हुँदैन पनि भनौँला। अहंकार नराख्नुपर्ने हो पनि भनौँला। वस्तुनिष्ठ भएर चल्नुपर्छ भन्ने हामी पनि भनौँला । अरूले पनि भन्लान्। प्रत्येक व्यक्तिले आफूलाई केन्द्रबिन्दुमा राखेरै परिस्थितिको विश्लेषण र मूल्यांकन गरेका छन् भन्ने पनि होला। त्यसको हामी समीक्षा गर्दै जाउँला। तर, हामी खासगरी के चाहन्छौँ भने म होइन हामी भन्ने भावनासाथ, आफू होइन हाम्रो ध्येय, उद्देश्यलाई हासिल गर्ने काममा सफलता पाउने सोचसाथ अगाडि बढ्न सक्नुपर्छ । तब न हामी कम्युनिष्ट भन्ने कुराको अर्थ छ।’
वहाँले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताउनु भयो। अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोलसम्म विस्तार गर्न पनि नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो।