बाजुरा । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१, विच्छ्यामा ११ घर बगाएको छ भने सात घरमा क्षति पु¥याएको छ। साथै १७ घर उच्च जोखिममा रहेका छन्।
विच्छ्या खोलामा आएको बाढीले गाउँपालिकाको १, ३ र ५ नम्बर वडामा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। उनका अनुसार, कवाडी प्रहरी चौकीको टोली प्रभावित क्षेत्रमा गएर तथ्यांक संकलन गरिरहेको छ।
बाढीले हिमाली–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापालगायतका घर, पसल र खेतबारीमा क्षति पु¥याएको छ। त्यस्तै, हिमाली–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार र अङ्गविर चदाराका घर बगाएको प्रहरीले जनाएको छ।
यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर पनि पूर्ण रूपमा बगाएको छ। विच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा र बलचन्द्र थापा लगायतका घरहरू उच्च जोखिममा रहेका छन्।
बाढीले सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल, पानी घट्ट लगायतका सार्वजनिक संरचनामा पनि क्षति पु¥याएको छ। १ नम्बर वडा कार्यालय, विच्छ्या माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, नेटा र देउसैनका पानी घट्टसमेत जोखिममा छन्।
क्षतिको अवलोकन तथा प्रभावितको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली घटनास्थल पुगेको छ। अध्यक्ष मल्लले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर तत्काल निर्णय गर्ने बताएका छन्।