उत्सवमय इलाम: धान रोप्दै, लाखे नाच्दै, सांस्कृतिक रंगमा रंगियो रोपाइँ जात्रा

इलाम । इलाम बजारमा यस वर्ष पनि रोपाइँ जात्रा उत्साहपूर्वक मनाइएको छ। धान रोप्ने, हल जोत्नेदेखि बाउसे गर्ने र रोपाहारको अभिनय प्रस्तुत गर्दै यो पर्वलाई रंगीन बनाइएको हो।

जात्रामा छिमेकी गाउँबाट समेत आएका सहभागीहरूको उल्लेखनीय उपस्थिति रह्यो। स्थानीय लोकबाजाको तालमा हली, बाउसे, रोपहारलगायतका पात्र जातीय भेषभूषामा सजिएर बजार परिक्रमा गर्दा दर्शकको भीड लागेको थियो। साथै लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेनलगायतका आकर्षक पात्रको रोचक अभिनयले वातावरणलाई थप रोमाञ्चित बनायो।

स्थानीय संस्कृतिका जानकार युद्धप्रपाद वैद्यका अनुसार रोपाइँ जात्रा इलामको महत्वपूर्ण सांस्कृतिक पहिचान बनेको छ। “यो पर्व अब जाति र थरभन्दा पर, सम्पूर्ण इलामको सांस्कृतिक उत्सवको रूपमा मनाइन्छ, त्यसैले यसलाई बचाएर राख्नुपर्छ,” वैद्यले भने।

इतिहासअनुसार, सुगौली सन्धीपछिको समयमा इलाममा नेवार समुदायको बसोबास सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको हो। यस वर्षको जात्रा नेपाल भाषा तथा संस्कृति समाजको संयोजनमा आयोजना गरियो, जसमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुति समावेश गरिएका थिए।

समाजका अध्यक्ष प्रबिण श्रेष्ठका अनुसार सहभागी युवा–युवतीहरूले आफ्ना जातीय पोशाकमा सजिएर धान रोप्ने अभिनय, हलगोरु जोत्नेदेखि मुङग्रे नाचसम्मका प्रस्तुति प्रदर्शन गरे।

जात्रा अघिका दिनहरूमा नाग पञ्चमीदेखि लाखे नाचको आयोजना गरिन्छ, साथै लिम्बू समुदायले धान नाच प्रस्तुत गर्ने परम्परा पनि जीवित छ। असार–साउन महिनामा रोपाइँ सकेपछि मैजारोको रूपमा रोपाइँ जात्रा मनाउने प्रचलन आजसम्म कायम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *