काठमाडौं । जम्मु–कस्मिरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिक बिहीबार आएको भीषण वर्षापछिको बाढीमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ५० जनाभन्दा बढीको उद्धार गरिएको छ भने १ सय २० भन्दा बढी घाइते छन्।
यसै घटनामा २ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। प्रहरी र स्थानीय प्रशासनका अनुसार बाढीको खबर पाउनासाथ ठूलो मात्रामा राहत तथा उद्धार टोली घटनास्थल पठाइएको र व्यापक अपरेसन सुरु गरिएको छ।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले यो घटनामा ठूलो मानवीय क्षति हुन सक्ने आशंका व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।