लमजुङमा दुध उत्पादन झण्डै तेब्बर वृद्धि, कृषकलाई करोडौंको अनुदान

लमजुङ । जिल्लामा व्यावसायिक दुध उत्पादनमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। लमजुङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार अघिल्लो वर्षको तुलनामा निर्यातमा समेत झण्डै तेब्बर वृद्धि भएको छ।

आर्थिक वर्ष २०८१/८२ को सुरुमा दैनिक १,२०० लिटर दुध निर्यात हुँदै आएकोमा वर्षको अन्त्यसम्म यो मात्रा बढेर ३,२०० लिटर पुगेको हो। विशेषगरी राइनास नगरपालिकामा कृषकहरूले व्यावसायिक गाईपालनलाई प्राथमिकता दिँदै उत्पादन विस्तार गरेका छन्।

दुध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मात्र २७ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ। जनविकास सहकारी संस्था (राइनास–५), धमिलिकुवा दुग्ध विकास कृषि सहकारी संस्था (राइनास–६) र एकीकृत कृषि सहकारी संस्था (मध्यनेपाल–६) मार्फत १६० भन्दा बढी कृषकले लाभ पाएका छन्।

कुल उत्पादन ६ लाख ४४ हजार ८१८ लिटरमध्ये ४ लाख ५८ हजार ९४८ लिटर दुधमा प्रतिलिटर पाँच रुपैयाँका दरले २२ लाख ९४ हजार ७४० रुपैयाँ र १ लाख ८५ हजार ८७० लिटर दुधमा प्रतिलिटर २ रुपैयाँ ४५ पैसाका दरले ४ लाख ५५ हजार ३८१ रुपैयाँ अनुदान वितरण गरिएको हो।

हाल सहकारीमार्फत मात्र दैनिक औसत २,४५० लिटर र निजी रूपमा ५५० लिटर गरी कुल ३,००० लिटर दुध जिल्लाबाहिर पठाइँदै आएको छ। जिल्लामा दुध प्रशोधन तथा प्याकेजिङ उद्योग नहुँदा धेरैजसो उत्पादन बाहिर जान्छ भने घुम्ती गोठहरूमा उत्पादित दुध घरेलु प्रशोधन गरी घिउको रूपमा बिक्री हुने गरेको छ।

चालु आर्थिक वर्षमा दुध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको विज्ञ केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *