पश्चिम नवलपरासी । सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आन्दोलित भएका छन्। लुम्बिनी प्रदेशसहित तराई–मधेशका १३ जिल्लाका किसान अगुवा काठमाडौँमा भेला भई राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्दै आन्दोलनको तयारी थालेका हुन्।
नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवका अनुसार किसानहरूले दुई साताअघि नै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै साउन महिनाभित्र निर्णय गर्न अल्टिमेटम दिएका थिए। तर सरकारले चासो नदिएपछि उनीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) महासचिव शंकर पोखरेललाई भेटेर माग राखिसकेका छन्। निकट भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने तयारी भइरहेको छ। माग सम्बोधन नभए भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना बस्ने चेतावनी किसानहरूले दिएका छन्।
चालु आर्थिक वर्षको बजेटमा उखु अनुदानका लागि रकम विनियोजन नभएको भन्दै किसानहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ दिने निर्णय गरेको भए पनि उक्त रकम भुक्तानी भएको छैन। संघका अनुसार देशभरका किसानलाई सरकारको १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी अनुदान पाउन बाँकी छ।
गत वर्ष प्रतिक्विन्टल ६५५ रुपैयाँ तोकिएको मूल्यमा चिनी उद्योगले ५८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान दिने व्यवस्था थियो। तर यस वर्ष सरकारले अनुदान घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र राखेको छ। किसानहरूले यो निर्णय अस्वीकार गर्दै पुरानै दर कायम गर्न माग गर्दै आन्दोलनमा उत्रने तयारी गरेका छन्।