भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन थालेका छन् । राज्यको नीतिअनुसार विद्यालयहरूले कृषिलगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गर्ने काम अगाडि बढाएका हुन् ।
भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले १५ रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई कृषि अभ्यासमै आधारित शिक्षा प्रदान गर्दै आएको छ । कक्षा ९ देखि १२ सम्म बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी सीप पनि दिइँदै आएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो ।
“हामीले विद्यार्थीलाई अभ्यासमार्फत शिक्षणमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।”
विद्यालयले विद्यार्थीलाई धान, मकै, तरकारी, च्याउखेती, मौरीपालन, माछापालनदेखि जैविक विषादी निर्माण र रोग–कीराको उपचारसम्मको सीप सिकाइरहेको बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले बताउनुभयो ।
२०७४ सालदेखि सुरु गरिएको यो कार्यक्रमअन्तर्गत हाल ३२ जना विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन् । कक्षा १२ की छात्रा विविहाङमा राईका अनुसार अभ्यासमै आधारित पढाइ भएकाले सीप आर्जन गर्न सजिलो भएको छ ।
प्रधानाध्यापक रेग्मीले विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम रोकिएकाले विद्यार्थी मर्कामा परेको उल्लेख गर्दै यस्ता उपयोगी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।