अण्डाको मूल्य फेरि बढ्यो, मिडियममा बढी वृद्धि

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य फेरि वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुनेगरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो ।

सङ्घको बुधबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । नयाँ सूचीअनुसार ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ निर्धारण गरिएको छ ।

यससँगै चितवनबाहिर पठाइने अण्डामा लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाइएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ ।

यसअघि साउन ६ गतेदेखि लागू मूल्यअनुसार ठुलो अण्डा प्रति क्रेट ५२५ रुपैयाँ र मिडियम अण्डा ४९५ रुपैयाँमा बिक्री भइरहेको थियो । नयाँ मूल्यमा मिडियम अण्डा २० रुपैयाँले ह्वात्तै बढ्दा ठुलो अण्डामा ५ रुपैयाँ मात्र वृद्धि भएको छ ।

त्यसैगरी ढुवानी तथा प्याकेजिङ खर्च पनि प्रति पेटी १० रुपैयाँले बढाएर १३० बाट १४० रुपैयाँ पुर्‍याइएको सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *