पर्वत । ‘एक पालिका, एक अस्पताल’ अभियानअन्तर्गत पाँच वर्षअघि थालिएका आधारभूत अस्पताल परियोजना अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा दिने उद्देश्यले सुरु गरिएका अस्पतालहरू समयमै सञ्चालनमा नआउँदा सर्वसाधारण निराश भएका छन् ।
जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि अस्पताल सञ्चालन हुन सकेका छैनन् । अन्य पालिकामा त निर्माणकार्य नै अधुरो छ ।
मोदी गाउँपालिका–५ बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास भएको पाँच वर्ष बितिसक्दा पनि जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन । वडा अध्यक्ष मानबहादुर अधिकारीका अनुसार पालिकाले भवन भाडामा लिएर अस्पताल सञ्चालन गर्ने योजना बनाएको थियो तर कार्यान्वयन हुन सकेको छैन ।
कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा करिब रु ५ करोड लागतमा बनेको १० शय्याको भवन पनि स्रोतसाधन अभावले प्रयोगमा आउन सकेको छैन । त्यस्तै, जलजला गाउँपालिका–३ मल्लाजमा करिब रु १० करोड लागतमा बनेको भवन निर्माण सम्पन्न भए पनि अस्पताल सञ्चालन हुन नसकेको सूचना अधिकारी भेषराज आचार्यले बताए ।
फलेवास नगरपालिका–६ देविस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्थापन गरी रु १ करोड ७० लाख बजेट प्राप्त भए पनि भवन अझै अधुरो छ ।
महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा १५ शय्याको अस्पताल निर्माणका लागि २०७८ मा रु १३ करोड ४१ लाखमा सम्झौता भए पनि हालसम्म २० प्रतिशत मात्र काम भएको छ ।
पैयुँ गाउँपालिका–४ हुवासमा रु १० करोड लागतको १० शय्याको अस्पताल पटक–पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन ।
त्यस्तै, विहादी गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण अलपत्र छ । संघीय सरकारले सहयोग गरेको वडा नं २ बर्राचौरस्थित १० शय्याको अस्पताल सात वर्षदेखि अधुरो अवस्थामा छ ।