पर्यटकको पर्खाइमा धनकुटाको ‘किवा ढाडा’: ढुङ्गा, ओढार र प्राकृतिक सौन्दर्यको खजाना

हिले । धनकुटा सहिदभूमि–५ मा रहेको ‘किवा ढाडा’ नामक स्थान पर्यटकको पर्खाइमा अलपत्र छ । विशाल ढुङ्गा, अनौठा ओढार र प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय सम्भावना प्रचुर भए पनि पूर्वाधार र प्रचार–प्रसारको अभावले यो स्थल अझै ओझेलमा छ ।

निर्माणाधीन अरुण कोरिडोरबाट करिब ३०० मिटर माथिबाट सुरु हुने किवा ढाडा करिब ५०० मिटर लम्बाइसम्म फैलिएको ढुङ्गामय क्षेत्र हो । यहाँ रहेका विशाल ढुङ्गाभित्रका ओढारभित्र एकातिरबाट छिरेर अर्कोतिर निस्कन सकिने आकर्षक विशेषता छ ।

स्थानीय लालजित राईका अनुसार वान्तवा भाषामा ‘किवा’ को अर्थ बाघ र ‘ढाडा’ को अर्थ ओढार हो । यसैले यो स्थान बाघ बस्ने ओढारको रुपमा चिनिन्छ । “आजका पुस्ताले चिडियाघरमै मात्र बाघ देखेका छन्, तर बाघको प्राकृतिक बासस्थान देखाउन यस स्थान उपयुक्त हुन्छ,” राई भन्छन् ।

तर, पूर्वाधार अभावले समस्या बनेको छ । ढुङ्गाबीचको बाटो सहज छैन, सडक स्तरोन्नति नभएकाले यात्रा कठिन छ । अधिकांश ढुङ्गा र ओढार झाडीले ढाकिएका छन् ।

यद्यपि, स्थानीय नगेन्द्र राईका अनुसार यहाँ ‘रक गार्डेन’ वा ‘रक पजल पार्क’ बनाएमा साहसिक यात्रा मन पराउने पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । वरपरको लाबुवा खोङताङ गुफा (२० मिटर लामो), अरुण नदी र खोकुटार क्षेत्रको रमणीय दृश्यले थप आकर्षण दिन्छ ।

हिलेबाट करिब १८ किलोमिटर दूरीमा रहेको यो स्थल धेरैलाई अज्ञात रहनुको मुख्य कारण यातायात सहज नहुनु हो ।

सहिदभूमि गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष सफलमान राईका अनुसार सडक स्तरोन्नति र प्रचार–प्रसारमा पहल भइरहेको छ । “अरुण कोरिडोर निर्माण भइरहेको छ, हामी पनि हाम्रो तर्फबाट सकेको पहल गरिरहेका छौँ,” उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *