रौतहटमा मलको चरम अभाव, किसान भन्छन् : ‘हामीलाई मल चाहियो, आश्वासन होइन्’

रौतहट । धान रोपाइँको मुख्य सिजनमै रौतहटका किसान मलको चरम अभावसँग जुधिरहेका छन् । खेतमा पसिना बगाए पनि मल नपाएकाले उत्पादन घट्ने चिन्ता छ ।

चन्द्रपुर–२ की शान्ता सिंजाली मगर भन्छिन्, “कहिले पानीको समस्या त कहिले मलको, खेती गर्नै धौँधौँ भएको छ।” चन्द्रपुर–१० की सुनिता साहको गुनासो झन् कडा छ—“तीन तहको सरकार आएपछि झन् मल पाउन कठिन भयो। किसानलाई सुनुवाइ गर्ने कोही छैन।”

किसान दिनभर लाइनमा बसेर बेलुकी खाली हात फर्किन बाध्य छन्। डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेको किसान राम विश्वास यादवको आरोप छ। यही असन्तुष्टिका बीच गरुडा–५ का किसानले सहकारी संस्थाबाट युरिया र डीएपीका बोरा समेत लुटे।

मागअनुसार मल नआएको कृषि सहकारी संस्थाका अध्यक्ष संजिव राय यादवले बताए। सरकारी तथ्याङ्कमा खेतीयोग्य जमिन कम देखाइएकाले पनि मल आपूर्ति घटेको उनको दाबी छ। रौतहटमा मात्रै ३५ हजार हेक्टरमा धानखेती हुने भए पनि आवश्यक १० हजार मेट्रिक टन युरिया र ८ हजार मेट्रिक टन डिएपी आपूर्ति हुन सकेको छैन।

कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख विवेक पौडेलले पनि मल अभाव भएको स्वीकार गरेका छन्। जिल्लामा मात्रै कृषि सामग्री कम्पनीका १९६ र साल्ट ट्रेडिङ्गका ११८ डिलर भए पनि किसानले सहज रूपमा मल पाउन सकेका छैनन्।

स्थानीय तहका समितिलाई डिलर सिफारिस, मूल्य निर्धारण र अनुगमन गर्ने अधिकार भए पनि किसानको गुनासो सम्बोधन हुन सकेको छैन। मधेश प्रदेश कृषि मन्त्रालयका अधिकारीहरूका अनुसार कोटा तोकिए पनि पालिका र सहकारी स्तरमै वितरण असन्तुलन र अनियमितता बढेको छ।

“आएको मल सदुपयोग गर्न नगरपालिका सक्रिय हुनुको विकल्प छैन,” मौलापुर कृषि शाखा प्रमुख रिंकु जयसवाल भन्छन्।

तर किसानहरूको एउटै आवाज छ—“हामीलाई मल चाहियो, आश्वासन होइन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *