लमजुङ । धान रोपाइँ सकेसँगै लमजुङका किसान अहिले धमाधम कोदो रोपाइँमा व्यस्त भएका छन्।
दोर्दी गाउँपालिका–८ खिन्चोककी मैती घलेले मकै थन्क्याएरै कोदो रोप्न थालेकी छन्। बिउ ब्याडमा हुर्कँदै जाँदा रोपाइँमा भ्याइनभ्याइ भएको उनको भनाइ छ। तर, खेताला नपाउने समस्या भने बढिरहेको उनले बताइन्। त्यस्तै, सोही गाउँकी दिलकुमारी घलेले आफ्नै रोपाइँ सकेपछि अरूको मेला जाँदै गरेको बताइन्।
बेँसीसहर नगरपालिका–११ चिती बानियापधेराकी कृष्णकुमारी गुरुङले पनि पाखो बारीमा मकै थन्क्याएर कोदो रोपाइँ सुरु गरिसकेको बताइन्। “भदौ अन्तिमसम्म रोप्न पाइन्छ,” उनले भनिन्, “गाउँका सबैजना अहिले कोदो रोपाइँमै छन्।”
दुधपोखरी गाउँपालिका–कोल्कीकी मनिता गुरुङ र सुन्दरबजार नगरपालिका–ऐँसेलुचौरकी आइतीमाया तामाङले समेत खेताला नपाएर अर्मपर्ममै कोदो रोपिरहेको अनुभव सुनाए। त्यस्तै, सुन्दरबजार नगरपालिका–भोटेवडारकी विमला कुवँर र मध्यनेपाल नगरपालिका–६ काउरे सिम्पानी तथा १० थानसिं नेटका किसानहरु पनि व्यस्त छन्।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाका अनुसार जिल्लाका आठवटै पालिकामा कोदो रोपाइँ हुने गर्छ। हाल करिब ७,९१९ हेक्टर क्षेत्रफलमा कोदो रोपाइँ हुने तथ्याङ्क छ। पछिल्ला वर्षहरूमा कोदो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको उनले बताए।
“कोदो खेतीलाई प्रवर्द्धन गर्न रैथाने बाली कार्यक्रम छ,” खतिवडाले भने, “तर कार्यक्रम भदौपछि हुने भएकाले रोपाइँकै बेला किसानलाई सहयोग पुर्याउन गाह्रो भएको छ।”
भदौ महिनाभरि रोपाइँ हुने कोदो लमजुङमा किसानको प्रमुख वर्षेनी पाखोबारी बाली बनेको छ।