कोशी राजमार्ग ३ दिनदेखि ठप्प : यात्रु अलपत्र, सामान ढुवानीमा समस्या

संखुवासभा । भोटखोलाको हुङ्गुङ खण्डमा गएको भीषण पहिरोका कारण कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ । खाँदबारी–किमाथांका नाका जोड्ने करिब ११५ किलोमिटर दूरीको सो खण्ड बिहीबार गएको पहिरोपछि पूर्ण रूपमा ठप्प भएको हो ।

उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । ‘सडक अझै निर्माणाधीन भएकाले उपकरण प्रयोग गरेर पहिरो पन्छाउन कठिन भएको छ,’ उनले बताए ।

भिरालो भूभाग र लगातार वर्षाले पहिरो पन्छाउने कार्य चुनौतीपूर्ण बनेको भन्दै उनले तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना न्यून देखिएको जानकारी दिए ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन र निर्माण सामग्रीको ढुवानी ठप्प छ भने यात्रुहरू तीन दिनदेखि अलपत्र परेका छन् । गुरुङका अनुसार वर्षायाममा यो क्षेत्रमा प्रत्येक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो अति ठूलो र जोखिमपूर्ण भएकाले सडक सञ्चालन हुने समय निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *