एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनविरुद्ध: झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको स्पष्ट धारणा राखेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता खनालले एमसीसी सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीति अघि बढाउने उपकरण भएको आरोप लगाउँदै यसले चीन र भारतसँगको नेपालको भू–राजनीतिक सन्तुलनमा गम्भीर असर पारेको बताए ।

उनले संसदबाट एमसीसी सम्झौता असामान्य ढंगले अनुमोदन भएको उल्लेख गर्दै पर्याप्त छलफल बिना नै पारित गरिएको घटनालाई “एक आश्चर्यजनक नाटक” को संज्ञा दिए । यसले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन गरेको पनि उनले टिप्पणी गरे ।

राजनीतिक दलहरूको दोहोरो भूमिकाले राष्ट्रवादी अडान लिएका विद्यार्थी, युवा र बुद्धिजीवीहरूलाई पीडा पु¥याएको उल्लेख गर्दै खनालले एमसीसी सम्झौता नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने र यसले भारतीय एकाधिकारलाई बलियो बनाउने खतरा रहेको स्पष्ट पारे ।

सम्झौता कार्यान्वयनबारे अझै पनि अस्पष्टता रहनु र संसदमा यसबारे कुनै गहन छलफल नहुनु आश्चर्यजनक रहेको उनको भनाइ थियो । उनले एमसीसी सम्झौतामा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने दृढता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *