काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभर देवादिदेव महादेवको पूजा–आराधना गर्दै भक्तिपूर्वक मनाइँदैछ ।
धार्मिक विश्वासअनुसार आज निराहार, जलाहार वा फलाहार गरी शिव–पार्वतीको पूजा उपासना गरे पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ । सत्ययुगमा पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई स्वामी पाएको प्रसंगसँगै यो व्रतको प्रचलन सुरु भएको धर्मशास्त्रीय उल्लेख छ ।
संस्कृतका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्दबाट बनेको हरितालिका व्रतको कथा अनुसार पार्वतीलाई साथिनीहरूले हरण गरेर लुकाइदिएका स्थानमै उनले निराहार व्रत बस्दै महादेवलाई पति स्वरूप प्राप्त गरेकी थिइन् । त्यसै दिनदेखि तीज व्रतको परम्परा सुरु भएको मानिन्छ ।
धर्मशास्त्रविद्हरूका अनुसार तीज व्रत महिलामात्र नभई महिला–पुरुष दुवैले गर्न मिल्ने धार्मिक विधान छ । स्वास्थ्यअनुसार निराहार, जलाहार वा फलाहार गरी व्रत बस्न सकिन्छ । व्रत अटल सौभाग्य, पारिवारिक कल्याण, दीर्घायु, सन्तानप्राप्ति तथा अविवाहितलाई असल जोडी प्राप्तिका लागि गर्ने गरिन्छ ।
सोमबार राति दर खाई सुरु गरिएको यो पर्व ऋषि पञ्चमीसम्म चल्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश पूजा र पञ्चमीमा सप्तऋषि पूजा गरी तीज समापन गरिन्छ ।
धर्मशास्त्री र संस्कृतिविद्हरूले पछिल्ला वर्षहरूमा तीजको नाममा देखिएका विकृति—उच्छृङ्खलता, तडकभडक र महिना दिनअगाडिदेखि दर खाने चलन—लाई परम्परा विपरीत बताउँदै रोक्नुपर्नेमा जोड दिएका छन् ।